साउदी अस्पतालमा चन्द्रेश्वरको उपचारमा ९ करोड खर्च भइसकेको छ

  • Rakesh Singh
  • प्रकाशित मिति: भदौ 14, 2076
  • 11268 पटक पढिएको

काठमाडौँ, भदौ १४ गते। गणेशमान–चारनाथ नगरपालिका–१० डुमरिया खोल्मा टोलकी ४३ वर्षीय कलाशादेवी मुखिया बिनको घर पुग्दा बिहीबार उनी घाँस काटिरहेकी थिइन् । बरन्डामा काटिएको घाँसको थुप्रो थियो । त्यहीँ रहेको खाट वरपर गाईबस्तुलाई खुवाउने दाना असरल्ल थिए । गोठमा गाई, भैंसी, बाख्रा र खसी सुस्ताइरहेका थिए ।
कलाशादेवी घाम उदाएदेखि नअस्ताएसम्म गाईबस्तुकै वरिपरि हुन्छिन् । उनलाई लाग्छ– जति काममा व्यस्त भयो, त्यति मन भुल्छ । फुर्सद मिल्यो कि पति चन्द्रेश्वर मुखियाको यादले पिरोल्छ । मन चरक्क हुन्छ र चोट आँसु बनेर बाहिरिन्छ ।

त्यतिबेला साउदीबाट हरेक शुक्रबार चन्द्रेश्वरको फोन आउँथ्यो । चार छोरालाई वरिपरि राखी साताभरका खबर आदानप्रदान हुन्थे । अरू दिन उनलाई श्रीमान्को त्यतिबिघ्न सुर्ता हुन्नथ्यो । १ डिसेम्बर २०११ देखि चन्द्रेश्वरसँग कलाशादेवीको बोली मिसिन पाएको छैन । डुमरियाको खोल्मा टोल मकैखेतीका लागि चिनिन्छ । घरैपिच्छे मकैखेतको रेखदेख र घोगा भण्डारण गर्न काठका दुई तले मचान छन्, जसलाई स्थानीयले खोल्मा भन्छन् । प्रत्येकजसो घरमा खोल्मा रहेकाले टोलको नाम नै खोल्मा रह्यो । जनकपुरबाट ३० किमी उत्तरपूर्वस्थित यो गाउँमा वृद्धा, बालबालिका र महिला मात्र भेटिन्छन् । श्रम गर्न सक्ने पुरुष खाडी पसेका छन् । महिलाले नै खेतीपाती धानेका छन् । खेतबारी बाँझो हुन दिएका छैनन । वैदेशिक रोजगारीले टोलमा आर्थिक परिवर्तन ल्याइदिएको छ । फुस र खबटाका घर कमै मात्र छन्, धेरैजसो इँटाकै ।

चन्द्रेश्वर ५ वर्ष कतार बसेर फर्केपछि सन् २००८ तिर साउदीको मुवासत इन्टरनेसनल कम्पनीमा मजदुरीका लागि गएका थिए । कम्पनी राम्रो परेन । महिनाको ८ हजार रुपैयाँ पनि घर पठाउन मुस्किल हुन्थ्यो । कमाइ नभएपछि घर फर्केका चन्द्रेश्वरले फेरि साउदीमा १८ हजार रुपैयाँ तलब पाउने कम्पनीको भिसा पाए । साउदी पुगेपछि उनले घर खर्चका लागि एकपटक मात्र रकम पठाए । गएको २२ महिना पुग्दै थियो । दुई महिनापछि घर आउने कुरा चल्दै थियो । एक्कासि चन्द्रेश्वर बेपत्ता भएको खबर देवर राम एकवाल मुखियाले सुनाए । राम एकवाल साउदीमै काम गर्थे । ‘उनी कम्पनीबाट भाग्ने मान्छे होइनन्, अपराध गर्ने पनि होइनन्,’ त्यतिखेर कलाशादेवीले आत्तिँदै देवरलाई फोनमा अनुरोध गरिन्, ‘जसरी हुन्छ, पत्ता लगाऊ ।’

राम एकवालले १५ दिन लगाएर दाजु चन्द्रेश्वरको अवस्था पत्ता लगाए । उनी दमामस्थित मुवासत अस्पतालमा बोल्नै नसक्ने अवस्थामा भेटिए । टाउकोमा गहिरो चोट थियो । दमामको हाइवे सडकमा बाटो काट्दा तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको रहेछ । कोमामा छन् । ४१ वर्षीय चन्द्रेश्वरको शरीर चल्दैन । खाना पठाउनका लागि छातीको बीच भागमा प्वाल बनाई पाइप छिराइएको छ । अक्सिजनले जीवन धानिरहेको छ । उनलाई हेर्न एउटा नर्स नै खटिइएकी छन् ।परिवारको जिम्मेवारी कलाशादेवीको काँधमा सरेको छ । गाईबस्तुबाहेक उनीसँग आफ्नो भन्नु एक कट्ठा घडेरी मात्रै हो । ९ जनाको परिवार पाल्न गाईबस्तुले मात्र पुग्दैन । गरिखान आफ्नै खेत छैन । मोहीमा कमाएको खेतले जेनतेन गुजारा चल्दै आएको छ । छोराहरू हुर्केपछि भने कलाशादेवीलाई केही राहत मिलेको छ । बाबु दुर्घटनामा पर्ने बेला छोराहरूको उमेर १५, १३, ९ र ६ वर्ष थियो । पछिल्ला सात वर्षका हरेक दिन कलाशादेवीका लागि पीडादायी बने । ‘ठूलो छोरा काखमा भएदेखि नै पति बाहिर जान थाल्नुभयो, चार जनालाई एक्लै हुर्काएँ, बढाएँ,’ उनले भनिन्, ‘विदेशबाट श्रीमान्ले पैसा पठाउनुहुन्थ्यो । त्यसले बच्चाहरू हुर्काउन र पढाउन सजिलो थियो । तर श्रीमान् नै बिस्तारा परेपछि बाटो बन्द भयो । कैयौं रात भोकै सुतें । बच्चाहरूलाई पानी मात्रै उमालेर दिएँ ।’ अहिले २२ वर्षका जेठो छोरा अनरजित र २० वर्षका माइलो छोरा जनकपुरमै काम गर्छन् । उनीहरूको कमाइले फुस र खपडाको घर हटाएर पक्की बनाएकी छन् ।

१६ वर्षे काइँला छोरा सत्यनारायणले खेतीपाती गर्छन् । १३ वर्षीय कान्छा छोरा करण कक्षा ८ मा पढ्दै छन् । ‘बुहारीले चुलोचौको सम्हाल्छिन्,’ कलाशादेवीले भनिन्, ‘अन्नपानीको खासै समस्या छैन ।’ साउदीबाट चन्द्रेश्वरलाई ल्याउन कलाशादेवीलाई मन छ । तर सकेकी छैनन् । सारीले घुम्टो ओढेकी कलाशादेवीका आँखा रसाएको धेरैले भेउ पाउन्नन् । ‘हरहमेसा उहाँको याद आउँछ । रुँदै–कराउँदै मनलाई सान्त्वना दिएर बस्छु,’ उनले भनिन्, ‘याद गरेर कहाँ टेन्सन दूर हुन्छ रु’

देवर राम एकवाल १०–१५ दिनमा चन्द्रेश्वरको अवस्था बुझ्न अस्पताल गइराख्छन् । ‘देवरले सधैं बाँच्छन् कि बाँच्दैनन्, केही थाहा छैन भन्ने खबर पठाइरहन्छन्,’ उनले भनिन, ‘पहिला जस्तो अवस्था थियो, अहिले पनि त्यस्तै छ रे । ठीक होस् भनेर भगवान्सँग प्रार्थना गरिरहेको छु ।’

अस्पतालले उपचारमा कमी हुन दिएको छैन । रियादस्थित नेपाली दूतावासका अनुसार उपचारका लागि झन्डै ९ करोड रुपैयाँ खर्च भइसकेको छ । सबै खर्च कम्पनीले बेहोरिरहेको छ । ‘अस्पतालमा भए पनि कानुनी हैसियतमा राखिएको छ । हरेक वर्ष उनको आवासीय भिसा नवीकरण भइरहेको छ,’ साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भने, ‘एउटै कम्पनीले एउटा नेपालीका लागि यति धेरै खर्च भइसक्दा पनि उपचार जारी राखेको छ । यो निकै ठूलो मानवता हो ।’ कम्पनीले अब थप उपचार गर्न नसक्ने अवस्था रहेको भन्दै बिरामी लिएर जान नेपाली दूतावासलाई अनुरोध गरिरहेको छ । ‘बिरामीको उपचार पद्धतिमा कुनै कमी छैन, म आफैं अस्पताल पुगेर हेरेको छु,’ राजपुतले भने, ‘कम्पनीले हात उठाइदिन्छ कि भन्ने डर लागिरहेको छ । अहिलेसम्म उसले धेरै गरिसक्यो ।’ कम्पनीले बिरामी नेपाल लैजान लाग्ने खर्च पनि आफैं बेहोर्न तयार छ । डाक्टर र नर्ससहित पठाउँदा झन्डै १५ लाख रुपैयाँ खर्च हुन्छ । चन्द्रेश्वरलाई ल्याउन आफू तयार भएको पत्र पठाउनासाथ बिरामी नेपाल आइपुग्छ । कलाशादेवीले सहमति दिए पुग्छ । श्रीमान्लाई घरमै ल्याएर स्याहार गर्न कलाशादेवीलाई पनि मन छ । तर कमजोर आर्थिक स्थितिले हिम्मत जुटेको छैन । ‘घरमै ल्याएर स्याहार गर्न मन छ, तर के जोगाड गरेर यहाँ ल्याउने रु यहाँ ल्याएपछि औषधोपचार खर्च कसरी जुटाउने रु यही कुराले मन पिरोल्छ,’ उनले भनिन्, ‘गाउँका पञ्च–प्रधान ९नेता० सबैलाई गुहारें । मद्दत पाइनँ ।’

साउदीस्थित नेपाली दूतावासले वैदेशिक रोजगार बोर्डलाई बिरामीका लागि अस्पतालको व्यवस्था गर्न बारम्बार अनुरोध गरेको छ । हालै काठमाडौं आइपुगेका राजदूत राजपुतले यसबारे सरकारको ध्यानाकर्षण पनि गराए । ‘मान्छे होसमा होउन्जेल उसले परिवार र राष्ट्रलाई रेमिट्यान्स पठायो । बेहोस हुँदा कसैले नहेर्ने रु यसमा सरकार पन्छिन मिल्दैन,’ उनले भने, ‘कोमामा परेका बिरामी र उसका परिवारलाई सेवा दिने नीतिगत व्यवस्था गरिदिनुपर्‍यो ।’

बोर्डले कोमाका बिरामीलाई ‘नेपाल ल्याउने प्रक्रियारमापदण्ड, उपचारका लागि आवश्यक पर्ने नीतिगत तथा कानुनी संयन्त्र, अनुमानित खर्च विवरण’का विषयमा कार्यदलले काम गरिरहेको जनाएको छ । ‘कोमाका बिरामी ल्याएर उपचार गर्न गम्भीर छौं । यसको कानुनी र आर्थिक हैसियतबारे थप बुझ्नुपर्ने आवश्यक देखियो । कोषको पनि दायरा सीमित छ,’ बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले भने, ‘बिरामी ल्याउँदा विधि पुर्‍याउनुपर्छ । त्यहीअनुसार बजेट व्यवस्था पनि गर्नॅपर्छ ।’ काठमाडौंस्थित साउदी दूतावासले पनि कलाशादेवीलाई फोन गरेको थियो । त्यति बेला उनी खेतमा काममा थिइन् । कान्छो छोराले फोन उठाए पनि कुरा के भयो, त्यो उनले बुझ्न पाइनन् । त्यसपछि फोन आएको छैन । ‘मेरो घरमा मर्द छैन, सबै समस्या मैले नै हेर्नॅपर्छ,’ उनले भनिन्, ‘एक पटक उहाँको अनुहार हेर्न मन छ ।’


कल्याणपुर नगरपालिकामा वडाअध्यक्ष पदमा जनमत पार्टीबाट रहमानको उम्मेदवारीे दर्ता

गणेश कुमार शर्मासिरहा,कार्तिक २७ गते । कल्याणपुर नगरपालिकामा उपनिर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्

जल पुरुष सिंहको हात बाट पत्रकार बरबरिया सम्मानित

धनुषा ,कार्तिक २७ गते ।कमला बचाउ अभियानको प्रथम वार्षिकोत्सवमा पत्रकार नरेशचन्द्र बरबरिया र पत्रकार बिन

भूत मेला मेला आउने श्रद्धालुलाई निःशुल्क शिविर

ईन्द्रजीत गोईतधनुषा। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला मेलाका भक्तालुहरुलाई निःशुल

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२